काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अनुशासनको परिपालनलाई कडाइ गरिने बताएका छन् । मंगलबार पार्टीको एक भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले अब विपक्षीलाई रमाउनेगरी बोल्नेलाई कारबाही गरिने पनि चेतावनी दिएका छन् ।
‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । केन्द्रीय कमिटीको बैठकलाई हामीले कट अफ डेट मानेका छौं,’ अध्यक्ष ओलीले भने, ‘अब पार्टीको नीति र अनुशासन विपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ ।’
उनले पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने भन्दै अपराधपूर्ण क्रियाकलाप भएको पनि टिप्पणी गरे । ‘पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो । यो अपराधपूर्ण क्रियाकलाप हो,’ उनले भने ।
केन्द्रीय कमिटी बैठकअघि भएका यी सबै कुरामा ‘क्षमा भयो’ भन्दै ओलीले अगाडि भने, ‘तर, अब क्षमा हुँदैन । हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौं । यो चुनावको तयारीको बेला हो । कोराकोर, हानहान गर्ने होइन ।’
अब लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य भएको पनि अध्यक्ष ओलीले बताए ।













