पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

शिलान्यास देखि पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडानसम्म (भिडियो)

अन्तर्राष्ट्रिय व्यवसायिक उडानको प्रतिक्षा समाप्त हुँदै, फ्लाईदुबईले गर्नेछ ७ः१५ बजे पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान

गोविन्द सुवेदी

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (बुधबार) पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडानको औपचारिक शुभारम्भ हुँदैछ । फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान गर्दैछ । फ्लाई दुबईको यो नियमित उडान सुरु हुन लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

चार दसक भन्दा लामो पोखरेलीको प्रतिक्षा पछि विभिन्न झमेला बेहोर्दै र पार गर्दै १ बैशाख २०७३ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले शिलान्यास गरेको ६ वर्षमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर उद्घाटन भएको थियो । १७ पुस २०७९ मा तत्कालिन प्रधानमन्त्री प्रचण्डले उद्घाटनले उद्घाटन गरेको अन्ताराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन भएको हो ।

पोखरा विमानस्थलको उद्घाटन गर्दै तत्कालिन प्रधानमन्त्री प्रचण्डले पोखरा र गण्डकी प्रदेशकै सिधै अन्तर्राष्ट्रिय पहुँच बढेको बताएका थिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सिंगो देशकै अथतन्त्र माथि उकास्ने विश्वास समेत प्रकट गरेका थिए । यद्यपी अन्तराष्ट्रिय उडानका रुपमा फाट्टफुट्ट चार्टर उडान भएपनि अन्तर्राष्ट्रिय व्यवसायिक उडान भने यस अगाडि हुन सकेको थिए ।

विमानस्थल उद्घाटन गर्दा पोखरा महानगरले सार्वजनिक विदा नै दिएर भव्य स्वागत गरेको थियो । विमानस्थल उद्घाटनमा स्वागतका लागि विमानस्थल उत्सवमय बनाएका पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटनका अबसरमा उद्घाटन गर्न हतार गरेजस्तो देखिएपनि पोखरा विमानस्थल व्यस्त विमानस्थलको रुपमा विकास हुने विश्वास प्रकट गरेका थिए । प्रमुख आचार्य, पोखरावासी र पर्यटन व्यवसायीको पोखरा विमानस्थल चलायमान हुने अपेक्षाको ढोका फ्लाईदुबईको व्यवसायिक उडानको सुरुवातले खोलेको छ ।

पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडानको औपचारिक शुभारम्भको आवश्यक सबै प्रक्रिया पुरा भएर विमानस्थल फ्लाईदुबईको जहाज आगमनको प्रतिक्षामा छ । विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले ‘हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ ।’

उडान तालिका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ । त्यसपछि सोही विमान यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । पहिलो पटक पोखरा विमानस्थलमा अवतरण गर्ने उक्त विमानलाई पानीको फोहराले भव्य स्वागत गरिने कार्यक्रम रहेको छ ।

अध्यागमन, भन्सार र कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ । पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको जानकारी दिए । उनले भने, ‘राजस्व सङ्कलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाईसकिएको छ ।’

त्यसैगरी अध्यागमनका लागि सबै प्रबन्ध पूरा भएका पोखरा विमानस्थल अध्यागमन प्रमुख हरि बहादुर भुजेलले जानकारी दिए । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जस्तै पोखरा विमानस्थलबाट पनि अध्यागमन सुविधा पाइने उनले बताए ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएपछि आवश्यक शान्तिसुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले पनि विमानस्थलको निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलको सुरक्षाका लागि आवश्यक पर्ने सबै किसिमका प्रबन्ध मिलाइएको बताए । फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा र माला लगाएर स्वागत तथा बिदाइ गर्ने विशेष तयारीसमेत गरेका छन् ।

  • ७ आश्विन २०८३, बुधबार ११:५७ प्रकाशित