काठमाडौं महानगरले गर्‍यो अटिजम स्कुल शिलान्यास

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय भवनको शिलान्यास गरेको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा जग पूजा गरी भवनको शिलान्यास गरेकी हुन् ।

शिलान्यासपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले अरूसरह समान रूपमा पढ्न र अधिकार उपभोग गर्न पाउनुपर्ने बताइन् ।

अटिजम वा शारीरिक अशक्तताकै कारण कोही पनि बालबालिका शिक्षा लगायतका अधिकारबाट वञ्चित हुन नपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्नेमा उनले जोड दिइन् ।

‘हरेक बालबालिकाले पढ्न, खेल्न, अवसर प्राप्त गर्न र सम्मानपूर्वक बाँच्न पाउने समान अधिकार छ । तर, अटिजम वा फिजिकल डिसेबिलिटीका कारण शिक्षाबाट वञ्चित हुने बालबालिका अझै पनि हाम्रै समाजमा छन्,’ डंगोलले भनिन्, ‘अटिजम लगायतका इन्टिलेक्चुअल र फिजिकल डिसेबिलिटी यसका बाधक हुनुहुँदैन भनेर हामी सबैले परिकल्पना गरेको सहर हो काठमाडौं ।’

काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकलाई सहयोग र सेवाको आवश्यकता बढ्दै गएकाले यो भवन बहुउपयोगी हुने विश्वास उनले व्यक्त गरिन् ।

उनका अनुसार महानगरले निर्माण गर्न लागेको यो संरचना अटिजम भएका विद्यार्थीको सिप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन–अनुसन्धान र अभिभावकको सहायताका लागि उपयोगी हुनेछ ।

  • ९ मंसिर २०८३, बुधबार १४:२६ प्रकाशित