लक्ष्मी विद्या पदकबाट उत्कृष्ट विद्यार्थी सम्मानित (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
प्रतिष्ठित औद्योगिक एवं व्यावसायिक घराना लक्ष्मी ग्रुपद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्या पदकबाट उत्कृष्ट तीन जना विद्यार्थी पुरस्कृत भएका छन् । संघको ७२ औं साधारणसभा एवं ३६ औं महाधिवेशनको अवसरमा कास्कीका विभिन्न क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।

यसपटक लक्ष्मी विद्या पदक–२०८२ बाट एमबीएस तर्फ जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थी ज्योति तामाङ, बीबीए तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी विद्यार्थी समिक्षा तिमिल्सिना, र बीबीएस तर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भएका छन् । व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तह (एमबीएस) तथा स्नातक तह (बीबीए र बीबीएस) मा सर्वाधिक अंक प्राप्त गर्नेलाई पदक प्रदान गरिँदै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनील श्रेष्ठले सम्मानित विद्यार्थीलाई ताम्रपत्र, दोसल्लासहित पदक तथा नगद पुरस्कारबाट सम्मान गरे । स्नातकोत्तरलाई २५ हजार र स्नातक विद्यार्थीलाई १५ हजार नगद प्रदान गरिएको संघका महासचिव शोभा गौतमले बताइन् ।

२० पुस २०५५ पोखरा महानगरको दोस्रो नगर परिषदको समुद्घाटन समारोहमा समाजसेवा, साहित्य, शिक्षा, संगीत, पत्रकारिता, उद्योग, पर्यटन, खेलकूदको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ९ जनालाई पोखरेली नवरत्नका रुपमा सम्मान गरिएको थियो । सोही सम्मान पाएका लक्ष्मी हाउसका बुद्धिबहादुर श्रेष्ठले पुरस्कारमा पाएको १० हजार रुपैयाँमा प्रष्ठिानको तर्फबाट २ लाख १ हजार १ सय ११ रुपैयाँ थप गरि अक्षयकोषमार्फत् लक्ष्मी विद्या पदकको स्थापना गरिएको थियो ।

 

  • २० भाद्र २०८३, शनिबार १७:३० प्रकाशित