पोखरा ।
पोखरा महानगरपालिका वडा नं ५ प्रस्याङस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको दोस्रो दिन बिहीबारसम्ममा करिब ८५ लाख रुपैयाँ संकलन भएको छ।
प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुलीका अनुसार महायज्ञमा सन्तानेश्वर महादेव मन्दिर संरक्षक परिवारका दाता सुरेशचन्द्र कोइराला, शान्तिकुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मणप्रसाद कोइराला र सुवासचन्द्र कोइरालाबाट ३५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।
यस्तै, मन्दिर व्यवस्थापन समिति अध्यक्ष पराजुलीसहित श्रीराम पराजुली, शम्भु पराजुली, पुरुषोत्तम पराजुली र विश्वनाथ पराजुलीबाट एकमुष्ट १० लाख छ हजार रुपैयाँ संकलन भएको छ।
यस्तै समाजसेवी हेरम्बप्रसाद कोइराला तथा परिवारजनबाट तीन लाख १५ हजार, भरतराज पौडेलबाट २५ हजार नौ सय ९९, सूर्यप्रसाद पराजुलीबाट २५ हजार पाँच सय २५ रुपैयाँ र गजेन्द्र जैशवालबाट २५ हजार एक सय एक रुपैयाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।
यसैगरी मन्दिर व्यवस्थापन समितिका कार्यसमिति, व्यवस्थापन समिति र शुभेच्छुकबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको प्रचारप्रसार समिति संयोजक लक्ष्मण बरालले जानकारी दिए।
प्राकृतिक विपत्तिमा ज्यान गुमाएका, घाइते तथा बेपत्ताको सम्झना र विश्व शान्तिको कामनासहित आयोजना गरिएको महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शुरू गरिएको महायज्ञमा विभिन्न देवलिला, संगीतमय श्रीमद्भागवत कथा प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्। महायज्ञका प्रमुख वाचक पण्डित दीपकप्रसाद पौडेल रहेका छन्।
महायज्ञबाट संकलित रकम मन्दिर पुनःनिर्माणमा प्रयोग गरिने र केही रकम बाढीपीडित राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।
धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको उत्सवका रूपमा अघि बढाइएको महायज्ञमार्फत मन्दिरलाई कलात्मक र आकर्षक स्वरूपमा पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ।
सन्तानेश्वर महादेव मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको विशाल शिवालयका रूपमा निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ।
मन्दिर निर्माणका लागि प्राप्त सहयोग पारदर्शी रूपमा सार्वजनिक गर्ने र दातालाई योगदानअनुसार सम्मान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ।
मन्दिरको गर्भगृहमा एउटै शिलाका तीन भागलाई सन्तानेश्वर महादेव, माता पार्वती र गणेशका रूपमा पूजा गर्ने परम्परा रहेको बताइन्छ। स्थानीय लिलाधर कोइरालाले करिब ९२ वर्षअघि मन्दिर स्थापना गरेका थिए ।












