विश्वकप लिग-२ : ओमानलाई पराजित गर्दै नेपालले पक्का गर्यो छैटौं स्थान

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग -२ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग -२ मा छैटौं स्थान पक्का गरेको छ । सोमबार अल अमेरत ग्राउन्ड टर्फ १ मा भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ तथा हम्माद मिर्जाले ८७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । ओमानले ३२ रनमा पहिलो विकेट गुमाएपछि यी दुई मिलेर दोस्रो विकेटका लागि १५८ रनको साझेदारी गरेका थिए ।

हस्नैन शाहले २३ बलमा ४० रनमा अविजित रहेपनि जित दिलाउन सकेनन् । अन्तिम ओभरमा २३ रन आवश्यक हुँदा दीपेन्द्रसिंह ऐरी बलिङमा आएका थिए । पहिलो बलमा हस्नेनले २ रन जोडे भने त्यसपछि लगातार २ चौका हानेपछि ३ बलमा १३ रन आवश्यक भयो । त्यसपछि २ रन जोडेर २ बलमा ११ रन आवश्यक हुँदा दीपेन्द्रले डट बल फाले । अन्तिम बलमा पनि हस्नेनले रन लिएनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा ५० ओभरमा अलआउट हुँदै २८० रन बनायो ।

रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाए । दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाए । ओपनिङ गरेका देवले ६५ बलमा ४ चौका र १ छक्कासअित ५७ रन बनाए ।

९९ रनमा ३ विकेट गुमेको अवस्थामा रोहित र दीपेन्द्र मिलेर १३९ रनको साझेदारी गरेका थिए । त्यसपछि नेपाल २३८(३ को अवस्थाबाट २८० रनमा अलआउट भएको हो ।

नेपालको फिनिसिङ सोचेजस्तो बलियो भने हुन सकेन । यद्यपी अन्त्यतिर बसिर अहमदले ७ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए ।

ओमानका लागि शाह फेसलले ८ ओभरमा ५७ रन दिएर ५ विकेट लिए । जय ओडेराले ३ तथा समय श्रीवास्तवले २ विकेट लिए । लिग २ को अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो ।

सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग पराजित भएको थियो । नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । अब नेपालले ओमानलाई हराएर ३६ खेलमा ३० अंकका साथ फेरि छैटौं स्थानमा उक्लिएको छ ।

लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको थियो ।

  • २ कार्तिक २०८३, सोमबार २०:०३ प्रकाशित