पोखरा ।
पोखरा, बुद्ध विशालबजारमा व्यवसाय गर्ने महिला व्यवसायीहरु दिदीबहिनी समूह ले यस वर्षको तीज पर्व मनाउन भनेर छुट्याएको रकम रसुवा, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेका छन् ।
दिदीबहिनी समूहले यो वर्ष तीज कार्यक्रमको आयोजना नगर्ने र सो कार्यक्रमको लागि छुट्याएको ५१,१११ (एकाउन्न हजार एक सय एघार रुपैयाँ) प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
रसुवा, भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवालगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता बढिरहेको अवस्थामा आफ्नो पर्व मनाउने खर्चलाई आपत–विपदमा परेका नागरिकको सहयोगमा समर्पित गर्ने निर्णय गरिए अनुसार सहयोग गरेका हौं, ए एन मोनालिसा सपिङ सेन्टरका संचालिका इन्द्रमाया गुरुङले बताइन् ।
दिदीबहिनी समुहले गरेको यस कार्यले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको छ ।
पोखरा, बुद्ध विशालबजार दिदीबहिनी समूहले बाढी प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गर्दै विपद्को यस घडीमा सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरेको छ ।












