काठमाडौं ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम छ । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका मिस्रीसंग उक्त भेटमा पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ । भेटघाट सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् ।
नेपाल भ्रमणका क्रममा उनले बुधबार दिनभर नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–भारतबिचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल गरेका थिए । सरोकारवाला मन्त्रालयसँगको छलफलपछि भ्रमणका ठोस एजेन्डा तय हुने बताइएको छ ।
मिस्रीले बुधबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्दै प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तथा सम्भावित एजेन्डाबारे छलफल गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार दुई सचिवबिच विशेषगरी आगामी उच्चस्तरीय भ्रमणको तयारीका विषयमा कुराकानी भएको थियो ।
भ्रमणका क्रममा हवाई, रेल, सडक तथा पुललगायत पूर्वाधारमार्फत दुई देशबिचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ । त्यसैगरी द्विपक्षीय व्यापार प्रवर्द्धन तथा सहजीकरण, विकास सहकार्यलाई प्रभावकारी बनाउने, ऊर्जा क्षेत्रमा विद्यमान सहकार्यको दायरा विस्तार गर्ने र दुई देशका नागरिकबिचको जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।













