काठमाडौं ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ मध्यपूर्वका देशहरूमा निर्यात गर्न सुरु गरेको छ ।
शुक्रबार नेपाल एयरलाइन्सको उडानमार्फत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक सुरुवात गरिएको हो । डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी ‘रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेड’ सँग व्यावसायिक सम्झौता गरेको छ ।
डीडीसीका महाप्रबन्धक डा.शरण पाण्डेले अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिए ।
हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष ५० टन अर्थात ५० हजार किलो निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढाएपछि विदेश निर्यात हुने परिमाण पनि वृद्धि गरिने डा। पाण्डेले बताएका छन् ।
यो निर्यात मागअनुसार हप्तैपिच्छे पनि हुन सक्नेछ । डीडीसीले मध्यपूर्वसँगै अन्य देशहरूमा पनि बजार विस्तारको काम तीव्र पारेको बताएको छ । महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि नै जापान र दक्षिण कोरिया लगायत देशमा समेत घिउ निर्यात हुनेछ ।











