बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकखण्ड आज तेस्रो दिन पनि अवरुद्ध छ ।गरिमाका लागि न्याय माग्दै उनका परिवारले सडकमै धर्ना दिएपछि उक्त सडक खण्ड तीन दिन यता अवरुद्ध छ ।
बिहीबार राति प्रशासनले स्थानीय ब्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतकका परिवारले आफूहरूको अनुमति बिना गरिएको सहमति मान्य नरहेको भन्दै सडक छाड्न मानेका छैनन् ।मृतक गरिमाका बाबु मनोज चौधरीले थाहै नदिई प्रशासनले राजनीतिक दलका मानिसहरूसँग गरेको सहमति आफूलाई मान्य नरहेको बताए ।
गृहमन्त्री सुधन गुरुङ र कानुन मन्त्री सोबिता गौतम आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने मृतकका बाबु मनोजको माग छ ।
आफ्नी नाबालिका छोरीको बलात्कारपछि भएको क्रूर हत्याका अपराधीले मृत्यु दण्ड नपाएसम्म आफूहरूले न्यायको अनुभूति गर्न नसक्ने उनको भनाइ छ ।
सुरुमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँचबुदे सहमति गरेका थिए ।
मध्यरातमा भएको सहमतिमा आफूहरूको अनुमति नलिइएको र त्यसमा आफ्नो सहमति नरहेको उनले बताए ।बारा प्रशासनले बुधबारदेखि अवरुद्ध वीरगञ्ज-पथलैया सडक खुलाउन प्रयास गरिरहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर सडक खुलाउने प्रयास भएपछि स्थानीयबासीले मृतकका परिवारलाई रुवाएर सडक नखोल्न चेतावनी दिएका छन् ।












