पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि वर्तमान महासचिव शोभा गौतमको नेतृत्वमा उम्मेदवारी दिने प्यानल घोषणा गरिएको छ ।
संघको २० र २१ भदौमा हुने ७२ औँ अधिवेशन तथा ३६ औँ महाधिवेशनलाई लक्षित गर्दै गौतम नेतृत्वको टोलीले शुुक्रबर विहान उम्मेदवार परिचय तथा उम्मेदवारी घोषणा गरेको हो । घोषित प्यानलमा अध्यक्ष पदमा शोभा गौतम, वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र उपमहासचिवमा यादव पोखरेल उम्मेदवार छन् ।
गौतम नेतृत्वको टोलीले संघलाई थप सबल, साझा, गतिशील, पारदर्शी, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएको छ । उद्योग, व्यापार, पर्यटन, महिला उद्यमशीलता तथा युवा व्यवसायीसहित निजी क्षेत्रका विभिन्न क्षेत्र र पुस्ताको प्रतिनिधित्व हुने गरी टोली निर्माण गरिएको उनीहरूको दाबी छ ।
बदलिँदो आर्थिक परिवेश, प्रविधिको तीव्र विकास तथा उद्योगी–व्यवसायीले भोगिरहेका नयाँ चुनौतीलाई सम्बोधन गर्न सक्षम र परिणाममुखी नेतृत्व आवश्यक रहेको टोलीले जनाएको छ ।
घोषित प्यानलले उद्योगी–व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने, स्थानीय उत्पादन, उद्यम र बजारलाई प्राथमिकता दिने तथा युवा र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने मुख्य एजेन्डा अघि सारेको छ ।
त्यस्तै, लगानीमैत्री वातावरण निर्माणका लागि सरकार तथा सम्बन्धित निकायसँग सहकार्य र पैरवी गर्ने, पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई उद्योग–व्यवसायसँग जोड्ने र संघलाई प्रविधिमैत्री, आधुनिक तथा पारदर्शी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता टोलीले जनाएको छ ।
साना, मझौला तथा ठूला सबै उद्योगी–व्यवसायीको साझा आवाजका रूपमा संघलाई स्थापित गर्ने र निजी क्षेत्रको सम्मान, सुरक्षा तथा व्यावसायिक अधिकारका लागि सशक्त पैरवी गर्ने पनि प्यानलको प्राथमिकतामा छ ।
‘समावेशी टिम, जुझारु नेतृत्व–सबल संघ, समृद्ध पोखरा’ भन्ने नारासहित घोषणा गरिएको टोलीले आफूहरू पदका लागि मात्र नभई संघको गौरव, उद्योगी–व्यवसायीको हित र पोखराको आर्थिक समृद्धिका लागि निर्वाचनमा होमिएको जनाएको छ ।
प्यानलले आगामी दिनमा विस्तृत नीति, कार्यक्रम तथा एजेन्डा सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा पोखरेलीमाझ सार्वजनिक गर्ने जनाएको छ। साथै उम्मेदवारी अभियानमा सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा सरोकारवालाबाट सल्लाह, सुझाव, खबरदारी र सहयोगको अपेक्षा गरेको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्वका लागि सङ्घका वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, वर्तमान कार्यसमितिका उपाध्यक्ष बलराम आचार्य र यस अगाडी पनि अध्यक्ष उम्मेदवार बनेका पूर्व महासचिव अर्जुन पोखरेल अध्यक्षका आकांक्षी छन् ।












