पोखरा– नेपालगञ्ज उडान पुनः सुरु हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।

लामो समयदेखि रोकिएको पोखरा – नेपालगञ्ज नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालनमा आउने भएको छ ।

निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । बरालले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार पोखरा देखि विराटनगर हुदै नेपालगञ्ज सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो । भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको गौतमले बताए । पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ । पोखरा–नेपालगञ्जको एकतर्फी सस्तो फेयर ८ हजार २ सय १७ रुपैयाँ र महँगो फेयर १२ हजार ५ सय ६२ निर्धारण गरिएको बुद्ध एयरले जनाएको छ ।

पोखरा–नेपालगञ्ज उडान पुनः सञ्चालन हुने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।उडान सञ्चालनले चाडबाड नजिकिएसगै भारतीय पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुनेछ । साथै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुने उनले बताए ।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन पोखरा–नेपालगञ्ज उडान सुरु गरिएको थियो ।

  • ४ भाद्र २०८३, बिहीबार १३:३४ प्रकाशित