बागमतीमा राप्रपाले ३ मन्त्री पाउँदै, ४ बजे सपथको तयारी

केन्द्रभाग मिडिया

हेटौंडा ।

बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ ।

एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने गरी दलहरुबीच बाँडफाँट भएको छ ।

आन्तरिक विवादका बीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ। उनीहरुले पाउने मन्त्रालय भने टुंगिन बाँकी छ ।

मन्त्री बन्ने तयारीमा रहेका राप्रपा प्रदेशसभा सदस्य राजु विष्टले मन्त्रीको सपथग्रहण आज अपराह्न ४ बजेका लागि तय भएको जानकारी दिएका छन् ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले बागमतीमा एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापामगरलाई समर्थन रहेको पत्र पठाएका थिए । तर राप्रपा प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई छुट्टै पत्र पठाउँदै राप्रपाले सरकारलाई दिएको भनिएको समर्थन अनधिकृत रहेको जिकिर गरेकी थिइन् ।

पार्टीको नीति विपरीत काम गरेको भन्दै दलका नेता थापालाई राप्रपाले कारबाहीको तयारी गरेको छ ।

तर विष्टले त्यसप्रति आफूलाई कुनै चासो नरहेको प्रतिक्रिया दिए । यता राप्रपाको केन्द्रीय नेतृत्वले भने बागमती प्रदेश सरकार गठनमा पार्टीको समर्थन नरहेको सार्वजनिक रूपमा जनाएको छ ।

  • ४ भाद्र २०८३, बिहीबार १०:५९ प्रकाशित