काठमाडौं ।
विपक्षी दल नेकपा एमालेले वर्तमान सरकारको कार्यशैलीमाथि कडा प्रहार गर्दै मुलुकमा बालेन्द्रतन्त्र हाबी भएको बताएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेता बादलले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा गम्भीर सङ्कट पैदा भएको दाबी गरे ।
नेता बादलले नेपालको लोकतान्त्रिक इतिहासकै सर्वाधिक कठिन समय आएको उल्लेख गर्दै अहिलेको शासन सत्तालाई बालेन्द्रतन्त्र को संज्ञा दिए । उनले भने, ‘२०१७ सालमा महेन्द्रतन्त्र र २०६१ सालमा ज्ञानेन्द्रतन्त्र आएजस्तै अहिले मुलुकमा बालेन्द्रतन्त्र स्थापित भएको छ ।’
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार अधिनायकवादतिर उन्मुख भएको र यसले लोकतन्त्रलाई संकटमा पारेको उनको आरोप छ।
नेता बादलले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट प्रहार भइरहेको बताए । विशेष गरी गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको जवाफप्रति उनले आपत्ति जनाए । ‘त्यस दिन सदनमा प्रधानमन्त्रीले अस्वाभाविक र राष्ट्र विरोधी अभिव्यक्ति दिनुभयो,’ बादलले भने, ‘नेपालले पनि भारतको भूमि मिचेको छ भन्नु गैरजिम्मेवारपनको पराकाष्ठा हो ।’
नेता बादलले सरकारका क्रियाकलापहरूले राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठाएको भन्दै यसतर्फ सबैलाई सचेत रहन आग्रह गरे ।











