जनकवि दुर्गालाल श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौँ महानगरपालिका–१५ स्थित नेवाः मङ्का छँय् राखिएको छ।

९३ वर्षीय श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।पछिल्लो समय अस्वस्थ रहेका श्रेष्ठको निधन घरमै भएको नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लले जानकारी दिएका छन्। श्रेष्ठ पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए।

उनले नेपाल भाषाका साथै नेपाली भाषामा पनि कविता, गीतलगायत साहित्यका विभिन्न विधामा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’ को उपाधिबाट सम्मान गरेको थियो।

नेपाल भाषा र साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिएका श्रेष्ठको निधनले साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

  • २ भाद्र २०८३, मंगलवार १४:३० प्रकाशित