कांग्रेसको १५ औं महाधिवेशन : आजै देखि निर्वाचन कार्यक्रम, यस्तो छ तालिका

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम पनि आजै (सोमबार) देखि सुरू हुने भएको छ । खुलामञ्चमा हिजोदेखि सुरू महाधिवेशनमा आज बन्द सत्र हुँदैछ ।

बिहान १० बजे केन्द्रीय कार्यसमिति बैठकपछि बन्द सत्र सुरू हुनेछ । बन्द सत्रपछि साँझदेखि नै निर्वाचन कार्यक्रम सुरू हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिने छ ।

मतदाता नामवली प्रकाशन उपर दाबी विरोधका लागि ५ देखि साढे ६ बजेसम्मको समय तोकिएको छ । साढे ६ देखि साढे ७ बजेसम्म दावी विरोध उपर जाँचबुझ हुनेछ ।

त्यसपछ बेलुकी साढे ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारी दर्ता भने मंगलबार हुनेछ। मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

मंगलबार दिउँसो साढे ४ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ। साँझ ५स्३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोधपछि बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारी फिर्ता लिनका लागि असोज २१ गते बिहान ९ बजेसम्मको समय तोकिएको छ । त्यसपछि २१ गते बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ ।

मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ । सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम एवम् भातृ एवं शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गर्नेछन् ।

प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछैन।

एक प्रतिनिधिलाई मतदानका लागि करिब ५० मिनेट लाग्न सक्नेछ । मतदान सकिएपछि मतगणना सुरू हुनेछ ।

  • १९ आश्विन २०८३, सोमबार ०८:३३ प्रकाशित