काठमाडौं।
करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा गरिएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा.घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरेका हुन् ।
साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी भएका छन् । जसमा गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका एक उपभोक्ताले यो पटकको बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् । अन्य १५ जनाले एक एक लाख रुपैयाँ उपहार जितेका छन् ।
विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा बढेको छ । साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता (अपलोड) भएका छन्।
यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या ७ हजार ७७ मात्रै थियो। यता, क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।
विभागका अनुसार पछिल्लो १६ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १६ जना विजेता छनोट गरिएको छ । जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका एक–एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जितेका छन् । उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।











