जाजरकोटको भेरी पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो

केन्द्रभाग मिडिया

जाजरकोट ।

जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा पुरिएर थप एक जनाको ज्यान गएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । शनिबार बेलुकी पहिरोमा परेर बेपत्ता भएका तीन जनाको सब आइतबार बिहान फेला परेसँगै मृत्यु हुनेको संख्या ४ पुगेको हो । यसअघि पहिरोमा परेर घाइते भएका एक जनाको उपचारका क्रम्मा मृत्यु भएको थियो ।

पहिरोमा परेर मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् । उपचारका क्रममा भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले जानकारी दिए ।

उनका अनुसार पहिरोमा परी ६ जना घाइते भएका छन् । प्रभावित क्षेत्रका २०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । ३० साउन दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ लगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा टहरा भत्काउनुका साथै केही परिवार विस्थापित भएका छन् ।

यस्तै, भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन् । आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज हुँदै उनलाई मेडिकल कलेज कोहलपुर लगिएको छ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि ३१ साउन बिहान ७स्१५ बजे थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।

भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन् । उनलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।

यसैगरी, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्।

तीन जना डिस्चार्ज

पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि गए राति १२ बजे डिस्चार्ज गरिएको छ।

  • ३१ श्रावण २०८३, आईतवार १२:१४ प्रकाशित