इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

इन्डोनेसियाको पूर्वी क्षेत्रमा गएको भूकम्पमा परेर २० जनाको ज्यान गुमेको छ । शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पमा परी कम्तीमा २० जनाको ज्यान गुमेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो ।

उद्धार अधिकारीका अनुसार भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड भएका थिए । भूकम्प गएको करिब तीन घन्टापछि सुनामी चेतावनी हटाइएको थियो ।

माउमेरे सहर आसपासको क्षेत्रमा मात्रै २० जनाको शव भेटिएको, ६ जना घाइते भएको र दुई जना भग्ना वशेषमा फसेको उद्धार अधिकारीहरूले बताएका छन् । उमेरे फ्लोरेस द्वीपमा रहेको सिका रेजेन्सीको मुख्य सहर हो ।

माउमेरे उद्धार कार्यालयका प्रमुख फथुर रहमानका अनुसार भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको नाजेकेओ क्षेत्रमा भने उद्धार टोली अझै पुग्न सकेका छैनन् । भूकम्पका कारण त्यहाँ सञ्चार सेवा प्रभावित भएको छ । सडकमार्फत नाजेकेओ पुग्ने प्रयास पहिरोका कारण अवरुद्ध भएपछि अर्को टोली फेरीमार्फत त्यहाँ पुग्ने प्रयास गरिरहेको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन निकाय (बिएनपिबी) का अनुसार नाजेकेओमा करिब २ हजार मानिस सुरक्षित स्थानमा सारिएका छन् । त्यहाँ घर, गोदाम तथा सरकारी कार्यालयमा क्षति पुगेको छ । केही क्षेत्रमा सडकमा अत्यधिक जाम हुनुका साथै विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ ।

पूर्वी नुसा तेंगारा प्रान्तका गभर्नर इमानुएल मेल्कियादेस लाका लेनाले पत्रकार सम्मेलनमा भूकम्पका कारण भवन तथा संरचना भत्किँदा सुतिरहेका कम्तीमा पाँच जनाको मृत्यु भएको बताएका छन् । रोयटर्सले प्रमाणीकरण गरेको माउमेरेस्थित बन्दरगाहको भिडियोमा एउटा भवनको संरचना धुलो र भग्नावशेषमा परिणत हुँदै गर्दा मानिसहरू चिच्याउँदै सडकमा भागेको देखिन्छ ।

बिएनपिबीका अनुसार पूर्वी नुसा तेंगारा, पश्चिम नुसा तेंगारा र दक्षिण सुलावेसीका केही क्षेत्रमा शक्तिशाली कम्पन महसुस भएको थियो । कतिपय स्थानमा करिब एक मिनेटसम्म जमिन हल्लिएको स्थानीयले बताएका छन्।

पूर्वी नुसा तेंगारा प्रान्तको एन्डे जिल्लास्थित एउटा अस्पतालले पनि बिरामीहरूलाई भवनबाहिर सारिरहेको दृश्य स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका छन् । कम्सास डटकमले कम्तीमा एउटा स्थानमा पहिरो गएको जनाएको छ ।

इन्डोनेसियाको भूभौतिकी निकाय बिएमकेजीका अनुसार पहिलो भूकम्प स्थानीय समयअनुसार बिहान ४ बजेर ५८ मिनेटमा गएको थियो । भूकम्प १५ किलोमिटर गहिराइमा गएको र त्यसपछि लगातार परकम्प आएका थिए ।

  • ३० श्रावण २०८३, शनिबार १३:४० प्रकाशित