काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
ग्याँसको आपूर्ति सामान्य रहेको भन्दै मन्त्रालयले सो आग्रह गरेको हो ।
पछि ग्यास पाइँदैन भन्ने चिन्ताले भण्डारण गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्रालयले बजारमा ग्यासको कुनै अभाव नरहेको प्रस्ट पारेको हो।
ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने र त्यस्ता व्यक्तिको सूचना दिने उपभोक्तालाई पुरस्कार दिने घोषणासमेत मन्त्रालयले गरेको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको आयात साविकभन्दा बढेको तथ्यांक पेस गरे।
नेपाल आयल निगमले आधा सिलिन्डरको सट्टा पूर्ण क्षमताको सिलिन्डर वितरण गर्ने निर्णय गरेपछि बजारमा एकैपटक माग बढेका कारण केही असहजता देखिएको मन्त्रालयले जनाएको छ। ‘हाल सामान्य अवस्थामा भन्दा बढी ग्यास आयात र वितरण भइरहेको छ,’ सामान्य अवस्थामा दैनिक औसत एक लाख १० हजार सिलिन्डर बजारीकरण हुने गरेको तथ्यांक प्रस्तुत गर्दै सुवेदीले भने, ‘पछिल्लो समय दैनिक एक लाख ३२ हजार सिलिन्डर बजारमा गइरहेको छ।’ वर्षायामका कारण ढुवानीमा केही ढिलाइ हुन सक्ने भए पनि आपूर्तिमा कुनै समस्या नरहेको उनले बताए।
बढ्दो मागलाई सम्बोधन गर्न र आपूर्ति सुनिश्चित गर्न सरकारले भारतबाट आउने ग्यासको कोटा बढाउन पहल गरेको छ। हाल नियमित रूपमा मासिक ४९ हजार पाँच सय मेट्रिक टन ग्यास आपूर्ति भइरहेको छ।
आगामी तीन महिनाका लागि यसलाई बढाएर ६० हजार मेट्रिक टन पुर्याउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरिएको सुवेदीले जानकारी दिए। यसैगरी उपभोक्ताका गुनासा सुन्न निगम र ग्यास उद्योगी सम्मिलित क्विक रेस्पोन्स टिमले हालसम्म तीन हजार चार सयभन्दा बढी गुनासो सम्बोधन गरिसकेको छ। बजारमा ग्यास सहज हुँदै गएकाले गुनासो आउने क्रम घट्दै गएको मन्त्रालयको भनाइ छ।
ग्यास वितरण प्रणालीलाई पारदर्शी बनाउन मन्त्रालयले प्रविधिको प्रयोगमा जोड दिएको छ। तत्कालका लागि गुगल फर्ममार्फत उद्योगदेखि डिपोतर्फ गएको सिलिन्डरको दैनिक विवरण संकलन गर्न थालिएको छ।
दीर्घकालीन रूपमा भने निगमले जिआइएस म्याप र क्युआर प्रणाली लागू गरी ग्यास सिलिन्डरको स्टक र आवागमनको निगरानी गर्ने तयारी गरेको छ।
मन्त्रालयले कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।उनले कृत्रिम अभाव सिर्जना गरेको वा लुकाएको सूचना दिने जिम्मेवार नागरिकलाई मन्त्रालयले सम्मान तथा पुरस्कृत गर्ने घोषणासमेत गरे। बिक्रेताहरूलाई एउटा मात्र सिलिन्डर भएका उपभोक्ता, वृद्धवृद्धा, अशक्त र सुत्केरीलाई प्राथमिकता दिएर ग्यास वितरण गर्न निर्देशन दिइएको छ।












