पोखरामा थपियो अर्को महत्वपूर्ण पर्यटकीय पूर्वाधार (भिडियो)

आर्ट ग्यालरी, पुस्तकालय, कोशेली घर, सूचना केन्द्र, घण्टाघर र रिफ्रेस सेन्टर रहेको पोखरा घरको उद्घाटन

केन्द्रभाग मिडिया

पोखरा ।

आर्ट ग्यालरी, पुस्तकालय, कोशेली घर र पर्यटकीय सूचना केन्द्रसहितका पूर्वाधारयुक्त बनेको पोखरा घरको उद्घाटन भएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्य र  उपप्रमुख मञ्जुदेवी गुरुङले  एक समारोहका बीच पोखरा घरको शुक्रबार विहान उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै प्रमुख आचार्यले पोखरा घर एउटा महत्वपूर्ण र समग्र पोखराको बिस्तृत जानकारी दिने केन्द्र बनेको बताए ।

उनले पोखरा घर पोखरा घुम्नेहरुका लागि एउटा महत्वपूर्ण स्थल बनेको धारणा राखे । एउटा महानगरका लागि कला संस्कृति बुझाउने आर्ट ग्यालरी, सम्पूर्ण सुचना पाउने एकीकृत सूचना केन्द्र, सहरको चिनो स्वरुप लैजाने कोशेली घर, सहर समयमा चलेको जनाउने घण्टा घर, रिफ्रेस्मेन्ट सेन्टर लगायतका पूर्वाधार चाहिने र त्यो बनेको उनको भनाई थियो ।

पोखरा घरमा सञ्चालित सूचना केन्द्र अंग्रेजी, नेपाली र हिन्दीमा सूचना सम्प्रेषण गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । उनले जग्गादातालाई स्मरण गर्दै जग्गादाताको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । पोखरा घर साझोदारीमा नै सञ्चालन हुने बताए । प्रमुख आचार्यले अबको ६ महिना भित्र पोखरा घरको छतमा यहाँको भाषा, साहित्य र संस्कृतीको डबलीका लागि हल बन्ने जानकारी दिए ।

नेपाल उद्योग वणिज्य महासंघका पूर्वअध्यक्ष एवं पोखरा महानगर सल्लाहकार परिसदका अध्यक्ष आनन्दराज मुल्मीले पोखरा घर निर्माणले पोखराको भालिको भविश्य उज्जल रहेको संकेत गरेको बताए । उनले २७४ वर्ष अगाडि स्थापना भएको पोखरालाई विकास र मानवीय आवश्यकताको अधारमा अगाडि बनाउने क्रममा पोखरा घर महत्वपूर्ण रहेको धारणा राखे । पोखरा घरको निर्माणले पोखरा बसपार्क निर्माणको सुनिस्चितताको संकेत गरेको बताए ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले महेन्द्रपुलमा रहेको जीर्ण भवनमा रहेका आर्टग्यालरी, पुस्तकालयलाई स्थानान्तरण गर्ने कूराको विरोध भएको स्मरण गरे । आर्टग्यालरी र पुस्तकालय कस्तो हुन्छ भन्ने उदाहरण प्रस्तुत गरिएको उनले बताए । काम गर्दैगर्दा धेरै गाली खाइने रहेछ भन्दै उनले पोखरा बन्दैछ भन्दा टाउको दुख्नेहरुलाई अब टाउको दुख्दै जाने टिप्पणी गरे ।

पोखरा महानगर कांग्रेस दलका नेता दिवशमान प्रधानांगले पोखरा घर महत्वपूर्ण पूर्वाधार बनेको र अब पोखरा बसपार्क पनि निर्माण गरिने र त्यसका लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राखे । पोखरा महानगरमा एमाले दलका नेता राधिका शाही योगीले पोखरा बसपार्क निर्माणका लागि एमाले र आफ्नो तर्फबाट पनि जस्तोसुकै सहयोग हुने धराणा राखिन् ।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखरा महागनरले पोखरा अन्तर्राष्ट्यिा विमानस्थल सञ्चालनका लागि दिएको योगदान, पर्यटकीय राजधानी घोषणा र त्यसकालाई पूर्ण दिन कोशेली घर महत्वपूर्ण रहेको धारणा राखे ।

कार्यक्रममा स्वगत गर्दै पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा घर समग्र पोखराको चिनारीको रुपमा रहेको बताइन् । पोखरा महानगरपालिका प्रशासन महाशाखाका प्रमुख कृष्ण तिवारीले सञ्चालन गरेको कार्यक्रममा पोखरा घर निर्माणका लागि प्राप्त भएको जग्गादातालाई सम्मान गरिएको थियो । पोखरा घर निर्माण र यस भित्र रहने संरचनाको बारेमा ई. लक्ष्मी गौतमले जानकारी दिएका थिए ।

निर्माण लागत ५ करोड १२ लाख २६ हजार २४६ रुपैयाँ, कुन तलामा के संरचना ?

पोखरा घर निर्माणका लागि निर्माण कम्पनीसंग ५ करोड ४२ लाख ६६ हजार २५२ रुपैयाँमा भएकोमा निर्माण भएर महानगरको तर्फबाट जम्मा ५ करोड १२ लाख २६ हजार २४६ रुपैयाँ मुक्तानी भएको महानगरका ई. लक्ष्मी गौतमले जानकारी दिए । निर्माणको जिम्मा निर्माण कम्पनी कोजु इन्जिनियरिङ/आरुसी/एवीसी जेभीले लिएको थियो । निर्माण कम्पनीका सञ्चालक होमनाथ ढकालका अनुसार सुरुवातमा गरिएको डिजनाइनमा केही परिवर्तन गरेर स्नान घर र बाथरुम लगायतका पूर्वाधार थपिएको छ ।

पाँच तले भवनमा कहाँ के छ ? 
शुक्रबार उद्घाटन भएको अण्डर ग्राउण्डसहित पाँच तलाको बनेको उक्त भवनमा अण्डर ग्राउण्डमा ३१५.६२ स्क्वायर मीटर क्षेत्रमा ४० वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ । २८४.४९ स्क्वायर मीटर क्षेत्रफलको पहिलो तलामा कोसेली घर र सूचना केन्द्रका साथै पछाडिको भागमा पोखरा रिफ्रेस सेन्टर र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको टिकट काउन्टर छ ।

३३४.८९ स्क्वायर मीटर क्षेत्रफल रहने दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, ३३४.८९ स्क्वायर मीटर क्षेत्रफलमा, तेस्रो तलामा आर्ट ग्यालरी र मिटिङहल अगाडि पट्टी पोखरा प्रज्ञा प्रतिष्ठान र त्यस भन्दा माथि दुइवटा घण्टा घर छन् ।

 

 

  • २९ श्रावण २०८३, शुक्रबार १९:१० प्रकाशित