स्याङ्जाको अरौदिखोलाले मोटरसाइकल बगाउँदा चालक बेपत्ता

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जा पुतलीबजार नगरपालिका १ स्थित अरौदिखोलाले मोटरसाइकल बगाउँदा चालक बेपत्ता भएका छन् ।

हिजो राति १० बजेर २० मिनेटको समयमा ग ११ प ८१८३ नम्बरको बाइक बगाउँदा मोटरसाइकल चालक पुतलीबजार ३ बाडखोलाका २१ वर्षीय सलिम मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

मोटरसाइकलको पछाडी बसेका पुतलीबजार नगरपालिका ३ पुतलीखेतका १७ वर्षीय समिप शाही भने सकुशल रहेको प्रहरीले बताएको छ । बेपत्ता सलिम मगरको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खोजी जारी राखेको प्रहरीले बताएको छ ।

प्रहरीको अनुसार मोटरसाइकल खोलाले बगाएको ठाउँबाट १०० मिटर तल खोलामा भेटिएको थियो ।

  • २९ श्रावण २०८३, शुक्रबार ११:२१ प्रकाशित