रोल्पाको थबाङमा पहिरोमा परेर तीन जनाको ज्यान गुम्यो, ९ जना बेपत्ता

केन्द्रभाग मिडिया

रोल्पा ।
रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारामा गएराति गएको पहिरामा परि तीन जनाको ज्यान गुमेको छ । पहिरामा परेर थबाङ ५ की १८ वर्षीया शान्ती पुन मगर ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

अविरल वर्षाका कारण माथिबाट आएको पहिराले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको थियो ।
पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् । उद्धार गरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि पठाउने पहल भइरहेको छ ।

प्रहरीका अनुसार पहिरामा अझै नौ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेहरूमा जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।

घटनास्थलमा बिहीबार बिहानैदेखि ठुलो सङ्ख्यामा उद्धार टोली परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा विपद् उद्धार सामग्री र सोको सहितको टोली खटिएको छ ।

त्यसैगरी नेपाली सेनाको श्री सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दीपेश खड्काको कमान्डमा टोली र सशस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको छ। इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमान्डमा पनि प्रहरी टोली उद्धारमा खटिएको छ ।

अविरल वर्षाका कारण पहिरो थप खस्न सक्ने जोखिम कायमै छ । जोखिमका बिच पनि सुरक्षाकर्मी र स्थानीयवासीले बेपत्ताहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखेका छन् ।

  • २८ श्रावण २०८३, बिहीबार ११:०० प्रकाशित