काठमाडौं ।
निजामती सेवाको विशिष्ट श्रेष्ठीको पद सचिवबाट दुई सचिवले राजीनामा दिएका छन् । बाबुराम अधिकारी र डा. कमलप्रसाद पोखरेलले सचिव पदबाट राजिनामा दिएका हुन् ।
अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव थिए भने, डा. पोखरेल सूचना तथा सञ्चार मन्त्रालयका सचिव थिए । दुबैजनाले राजिनामा दिएर पनि स्वीकृत भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए । ‘दुई सचिवले राजीनामा दिनुभएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ,’ प्रवक्ता अर्यालले भने ।
यही १३ साउनमा मात्रै सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै सचिव पदबाटै राजीनामा दिएका हुन् । डा. पोखरेल राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट थिए ।
अधिकारी आगामी ४ भदौमा अनिवार्य अवकाशमा जाँदै थिए भने डा. पोखरेलको सचिवको कार्यकाल २३ भदौ २०८४ सम्म थियो ।













