कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १३२ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सोमबार बिहान दक्षिण अमेरिकी देश कोलम्बियामा गएको भूकम्पमा परी कम्तिमा १३२ जनाको ज्यान गुमेको छ । पछिल्ला वर्षहरुमध्येकै सबैभन्दा शक्तिशाली भूकम्पले धेरै भौतिक क्षति गरेको छ । सरकारले आपतकाल घोषणा गरेको छ ।

बीबीसीलाई कोलम्बियाका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भूकम्पमा परी अझै धेरै मानिसहरु भग्नावेशमा पुरिएकाले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

कोलम्बियाको भूगर्भीय सेवाका अनुसार सोमबार स्थानीय समयअनुसार बिहान ७ बजेर ३४ मिनेटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको उत्तरपश्चिमी चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो ।

भूकम्पको धक्का राजधानी बोगोटासम्मै महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पअघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सडकमा निस्किएका भिडियोहरू सार्वजनिक भइरहेका छन् ।

भूकम्पबाट सबैभन्दा बढी क्षति कोलम्बियाको कफी उत्पादन क्षेत्रको सहर पेरेरियामा भएको छ । आसपासका सहर तथा भाये डेल काउका क्षेत्र पनि प्रभावित भएका छन् ।

भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पाल्मार गाउँनजिक थियो । तर त्यहाँका मेयर लेओन फाबियो मारिन मोनकाडाका अनुसार सडकहरू क्षतिग्रस्त भए पनि मानवीय क्षति भने भएको छैन । -बीबीसी

  • २६ श्रावण २०८३, मंगलवार ०८:०१ प्रकाशित