काठमाडौं ।
देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार) बिहान कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवम् पहाडी भागमा साधारणतया बादल लागेको जनाएको छ ।
मधेश प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा मधेश प्रदेश, कोशी र बागमती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । मुलुकका पहाडी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
मधेश र कोशी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना विभागले जनाएको छ ।













