आज साउनको अन्तिम सोमबार : देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।
आज साउनको अन्तिम सोमबार । बिहानैदेखि पशुपतिनाथ पोखराको बिन्दवासीनी, केदारेश्वर, नारायणस्थानलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।बिहान झमझम पानी परेपनि शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका थिए।

बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए। पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर र पिङ्गलास्थान आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ। गौरीनगरसम्म भक्तजनको लामो लाम लागेको छ।

यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवम् विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ। बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि लाम लागेको छ।

दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारी खटिएका छन्। मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक सङ्घ–संस्थाको पनि विशेष सेवा र सहभागिता छ।

सवारी आवागमन व्यवस्थित गर्न गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगरमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ। बिहान ३ बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहने छन्।

मन्दिर प्रवेशका लागि चारतिरबाट लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजन आए पनि लामो समयसम्म लाममा बस्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ। यसैगरी पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ। विभिन्न सङ्घ–संस्थाले निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेका छन्।

उपत्यकाका प्रसिद्ध शिवालय गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेवलगायत ठूला–साना सबै शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको छ।
यता पोखरामा आज अन्तिम सोमबार पनि बोलबम पदयात्रा भएको छ । यद्यपि पदयात्रामा पछिल्लो समय भक्तजनको संख्या कम हुदैं गएको छ ।

  • २५ श्रावण २०८३, सोमबार ११:२१ प्रकाशित