पोखरामा कालो धुवाँ फाल्ने १५ गाडीका कागजपत्र नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा कालो धुवाँ फाल्ने १५ गाडीका कागजपत्र नियन्त्रणमा लिइएको छ ।

पोखराका नगर बसहरू नियमित मर्मत सम्भार नगर्दा प्रदूषण बढ्दै गएको भन्दै आइतबार यातायात व्यवस्था कार्यालय कास्कीले पोखराको न्यूरोडमा गुडिरहेका सवारी साधनको प्रदूषण मापन गरेको थियो। प्रदूषण परीक्षणमा क्रममा जाँच गरिएका सवारी साधनमध्ये १५ सवारी साधनले मापदण्ड भन्दा बढी धुवाँ फाल्ने गरेको भेटिएको छ ।

७० वटा सवारी साधनमा प्रदूषण परीक्षण गरिएको थियो। परीक्षणमा असफल भएका सवारी साधनका कागजपत्र नियन्त्रणमा लिएर मर्मत सम्भारका लागि पठाइएको कार्यालयले जनाएको छ ।

इन्जिनियर सुमन शर्माका अनुसार, त्यस्ता सवारीहरू मर्मतपछि कागजपत्र फिर्ता दिइने छ । ‘सबैको कागजात नियन्त्रणमा छ । उनीहरूलाई मर्मत गर्न निर्देशन दिइएको छ,’ उनले भने– ‘मर्मत गरेर आएपछि पुनः जाँच गरेर कागजपत्र फिर्ता गर्नेछौँ ।’

जेनजी आन्दोलनमा मेसिन जलेपछि प्रदूषण मापन रोकिएको थियो । केही समयअघि मात्रै मेसिन खरिद गरिएको छ । अहिले कार्यालयले नियमित मापन सुरु गरेको छ । लामो समयपछि प्रदूषण मापन भएकोले २ पटकका लागि कारबाही नगरिएको कार्यालय प्रमुख ढाका शर्माले बताए ।

अबदेखि भने मापदण्ड फेल भए कारबाही प्रक्रिया अघि बढ्नेछ । उनको अनुसार अबदेखि सूचना निकालेर जरिवाना सुरु हुने छ । मापदण्ड पालना नगरेका यस्ता सवारी साधनलाई २ हजारदेखि २० हजारसम्म जरिवाना तोक्ने अधिकार छ ।

  • २४ श्रावण २०८३, आईतवार १६:०५ प्रकाशित