देशमा राजनीतिक र आर्थिक संकट मुक्त गर्न राप्रपा बलियो हुनुपर्छ : अध्यक्ष लिङ्देन

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न राप्रपा बलियो हुनुपर्ने बताएका छन् । शनिबार राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आउँदो महाधिवेशनलाई पार्टी र देशकै राजनीतिक भविष्यका लागि एक ‘कोशेढुङ्गा’ का रूपमा उनले चित्रण गरे । ‘अहिले राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्ताको मुख्य लक्ष्य मंसिरमा हुने महाधिवेशन हो । यो महाधिवेशन राप्रपाका लागि मात्र नभई समग्र नेपाली राजनीतिको दिशा परिवर्तन गर्ने माध्यम बन्नेछ,’ उनले भने ।

राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेसँगै सम्पूर्ण पार्टी पंक्ति तयारीमा केन्द्रित भएको उनले बताए ।

विगतका ठूला दलहरूप्रति जनताको आक्रोश र नयाँ शक्तिप्रतिको आशाबीच वर्तमान राजनीतिक समीकरण निर्माण भए पनि छोटो समयमै मुलुकमा चरम निराशा छाएको उनको भनाइ थियो। ‘देशमा महंगीले सीमा नाघेको छ र बजारमा कृत्रिम अभाव व्याप्त छ, तर यसबारे बोल्ने कोही छैन,’ लिङ्देनले भने ।

‘‘मुलुक भू–राजनीतिको गम्भीर चक्रव्युहमा फसेको छ,’ लिङ्देनले थपे, ‘यस्तो अवस्थामा गरिब, सुकुम्बासी र आम सर्वसाधारणका लागि उभिने जिम्मेवारी अब राप्रपाको काँधमा आएको छ।’

उनले देशलाई विद्यमान संकटबाट निकाल्न राप्रपा नयाँ सोच र दृष्टिकोणका साथ जनताको माझमा जानुको विकल्प नरहेको जिकिर गरे। हाल भइरहेका स्थानीय तहका अधिवेशनलाई महाधिवेशनको पूर्वतयारी र संगठन सुदृढीकरणको महत्त्वपूर्ण आधारका रूपमा उपयोग गर्न समेत उनले कार्यकर्तालाई निर्देशन दिए।

  • २३ श्रावण २०८३, शनिबार १५:१८ प्रकाशित