काठमाडौं ।
आन्तरिक राजश्व विभागले आज (शुक्रबार) १५ जना करदातालाई १–१ लाख र एक जनालाई १० लाख उपहार घोषणा गर्दैछ । त्यसका लागि सबै तयारी पूरा भएको विभागले जानकारी दिएको छ । विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको हो ।
बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ । सो क्रममा विभागका प्राविधिकहरूले नमूना उपहार छनोट विधि अर्थमन्त्री डा. वाग्लेसमक्ष प्रस्तुत गरेका थिए ।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम आज घोषणा गर्नेछ । १ साउन देखि १५ साउनसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिनेछ ।
जसमा १ साउन देखि १५ साउनसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले कर कट्टी गरेर एक–एक लाख रूपैयाँ नगद उपहार पाउने छन् ।
त्यस्तै, १ साउन देखि १५ साउनसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा हुनेछ । जसमा एक जनाले १० लाख रूपैयाँ नगद जित्नेछन् । यो पुरस्कार रकममा भने कर लाग्नेछ ।
अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।












