पोखरा ।
मर्दी हिमाल पदयात्रामा गएर तीन दिनदेखि बेपत्ता भएका तीन जना युवा सकुशल फेला परेका छन् । उनीहरुलाई मोदी खोलाको किनारमा सकुशल फेला परिएको हो ।
पोखरा १४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङलाई अन्नपूर्ण गाउँपालिका ११ को छुमरुङ फेदीस्थित मोदी खोलापारि फेला पारिएको हो । उनीहरुलाई सुरक्षित स्थानमा ल्याउनका लागि सुरक्षाकर्मीको थप टोली उद्धारमा खटिएको छ ।
गएको १९ साउनमा मर्दी हिमाल ट्रेकिङका लागि निस्किएका उनीहरु माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडाको जंगलमा अलपत्र परेका थिए । २० साउनको बिहान ८ बजेसम्म सम्पर्कमा रहेका ती युवाहरु त्यसपछि सम्पर्कविहीन भएका थिए ।
उनीहरु हराएको सूचना पाएपछि बादलडाँडामा होटल सञ्चालन गर्ने प्रेम अधिकारीको नेतृत्वमा ४ जनाको टोली खोजीका लागि खटिएको थियो ।












