पोखरा ।
फेवातालमा लागूऔषध सेवन गरी ढुङ्गा चलाउने तीन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेवातालमा डुङ्गा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले सुरु गरेको चालकहरूको मादक पदार्थ तथा लागुऔषध सेवन (मापसेरलापसे) सम्बन्धी विशेष जाँच अभियान अन्तर्गत गरिएको परीक्षणको क्रममा तीन जना चालकले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईकाअनुसार पक्राउ परेका चालकहरूमाथि आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । डिएसपी भट्टराईले पर्यटक तथा सर्वसाधारणको सुरक्षा प्रहरीको प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा पनि यस्ता निगरानी र चेकजाँचलाई निरन्तरता दिइने जानकारी दिए ।
वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालित उक्त अभियानका क्रममा ३२ जना डुङ्गा चालकको परीक्षण गरिएको थियो ।
फेवातालका विभिन्न आठवटा घाटमा फेवा डुङ्गा व्यवसायी समितिसँग आबद्ध सात सयभन्दा बढी डुङ्गाहरू सञ्चालनमा छन् । बेलाबेलामा हुने मानवीय हेलचेक्र्याइँ र भवितव्यका कारण तालमा दुर्घटना हुने गरेकाले प्रहरीले सक्रियता बढाएको हो ।
यसैबिच, फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले प्रहरीको यस अभियानलाई सकारात्मक भन्दै स्वागत गरे । लागुपदार्थ सेवन गरेर डुङ्गा चलाउनु सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुने र यसले पर्यटन क्षेत्रमा समेत नकारात्मक सन्देश जाने उनको भनाइ छ ।
यद्यपि, प्रशासनले साँझ ६ बजेपछि डुङ्गा सञ्चालनमा रोक लगाउने निर्णय गरेकोप्रति भने व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष गिरीले आफ्ना डुङ्गाहरू सुरक्षित रहेको दाबी गर्दै चालक र लाइफ ज्याकेट बिना कुनैपनि पर्यटकलाई तालमा नपठाइने प्रतिबद्धता जनाए ।












