पृथ्वी राजमार्गमा पहिरो पन्छाइँदै : मलेखु–मुग्लिन सडकखण्डका ११ स्थानमा पहिरो

केन्द्रभाग मिडिया

लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो झरी सडक अवरुद्ध भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सडक खण्डको शीलतबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडक छेउ भासिएको छ ।

बेनिघाट बजार नजिकको गोमती खोलामा लेदोसहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ । कृष्णभीर माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

सूचना अधिकारी मिश्रका अनुसार ज्यामिरेघाट चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँठाउँमा ढुङ्गासहितको साना पहिरा खसेको छ ।

फिस्लिङ आसपासस्थित विभिन्न तीन स्थान गरी करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ भने ३० मिटरजति सडकको आधा भाग ३० चर्किएको छ । चुम्लिङटारमा ढुङ्गासहितको पहिरो खसेको छ । धारापानीको दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको सूचना अधिकारी मिश्रले जानकारी दिए।

सोही स्थानमा ‘कल्भर्ट’ खुलाउने काम भइरहेको र घोप्टेभीर तथा सिमलधारामा ठूला ढुङ्गा र लेदोसहित आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । इञ्जिनियर मिश्रका अनुसार सबै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । अब ठूलो पहिरो नखसेमा साँझसम्म पन्छाएर सवारी सञ्चालनमा ल्याइने छ । सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरण पन्छाउने काममा प्रयोग भइरहेको उनले जानकारी दिए।

  • ११ आश्विन २०८३, आईतवार १७:३३ प्रकाशित