मिटरब्याजीको कुटपिटबाट सर्लाहीमा एकै परिवारका चार जना घाइते

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

सर्लाहीमा मिटरब्याजीको कुटपिटबाट एकै परिवारका चार जना घाइते भएका छन् । सर्लाही बसबरिया गाउँपालिका–२ निवासी इन्दल सहनी मिटरब्याजीसँगको जग्गा विवादका क्रममा भएको कुटपिटबाट गम्भीर घाइते भएका छन्।

घटनामा सहनीसहित उनका दुई छोरा र श्रीमती गरी एकै परिवारका चार जना घाइते भएका छन्।

पीडित पक्षका अनुसार इन्दल सहनीले केही वर्षअघि लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए। ऋणको ग्यारेन्टीस्वरूप २६ कठ्ठा जग्गा राजीनामा पास गरिएको थियो। मौखिक सहमतिअनुसार साँवा–ब्याज चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने शर्त थियो।

पीडितले सुरुमा ६ लाख रुपैयाँ र त्यसपछि पटक–पटक गरी करिब १०–११ लाख रुपैयाँ बुझाइसकेको दाबी गरेका छन्। वडा कार्यालयमा समेत जग्गा फिर्ता गर्ने सहमति भएको बताइए पनि त्यसअघि नै साहु लक्ष्मी कुर्मी राउतको निधन भएको थियो।

त्यसपछि उनका छोरा बिलास शाहले उक्त जग्गा अर्को व्यक्तिको नाममा बिक्री गरिदिएको आरोप पीडित पक्षको छ। रकम पूर्ण रूपमा चुक्ता गरेपछि पनि आफ्नो जग्गा फिर्ता नपाएको इन्दल सहनीले दाबी गरेका छन्।

पीडितका अनुसार विशाल शाहको नेतृत्वमा विशेषर शाह, लक्ष्मण शाह, जगदीश शाह, रामप्रवेश शाह तथा परिवारका अन्य सदस्यले इन्दल सहनीमाथि सामूहिक रूपमा कुटपिट गरेका हुन्।

घटनामा इन्दल सहनी, उनका छोरा उमेश सहनी, मुना सहनी र श्रीमती भगवती कुमारी सहनी गम्भीर घाइते भएका छन्। उनीहरूको बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ।

  • ६ श्रावण २०८३, बुधबार १२:५३ प्रकाशित