काठमाडौं ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन् ।
मङ्गलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भई विगतको मौज्दात समेत गरी हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेका जानकारी दिएकी हुन् ।
हाल ९५ हजार मेट्रिक टन मल मौज्दात रहेको र जीटुजी प्रक्रिया मार्फत थप ५० हजार मेट्रिक टन मल चाँडै आपूर्ति हुने क्रममा रहेकाले धान सिजनका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने उनले दाबी गरिन् । उनले मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको बताइन् ।
मन्त्री चौधरीले कुल १५६ वटा स्थानीय तहमा साना सिँचाइ संरचना निर्माण तथा विस्तारका लागि करिब १६ करोड बजेट विनियोजन गरिएको, सङ्घीय निकाय तर्फ साना सिँचाइ संरचना निर्माण तथा विस्तारका लागि ४ करोड १७ लाख बजेटको व्यवस्था गरिएको जानकारी दिइन् ।
सिँचाइ मन्त्रालय मार्फत निर्माण भइरहेका ठुला प्रकृतिका सिँचाइ आयोजनाहरूबाट आगामी दिनमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेतीयोग्य जमिनमा सहज रूपमा सिँचाइ सुविधा उपलब्ध हुने देखिएको समेत उनले बताइन् ।
मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र सहअस्तित्वका लागि विभिन्न प्रत्यक्ष परिणाममुखी कार्यक्रमहरू सञ्चालन गर्न गर्ने उल्लेख गरिन्।












