पोखरा विमानस्थलबाट सेवा दिने ट्याक्सीमा क्यूआर कोडयुक्त हेड सिट कभर

स्क्यान गर्दा पोखरासहित देशकै पर्यटकीय स्थलको जानकारी पाइने, पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई ट्याक्सीमै बसेर पोखरा र नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने उद्देश्यसहित क्यूआर कोडयुक्त ट्याक्सी हेड सिट कभर वितरण सुरु गरिएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरेली ट्याक्सी सेवा प्रालिको संयुक्त आयोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा दिने ट्याक्सीमा बिहीबार विहान यस्तो विशेष सिट कभर राख्दै यसको सुरुवात गरिएको हो । कार्यक्रमको शुभारम्भ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने गराएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख लामिछानेले ट्याक्सीको हेड सिट कभरमा रहेको क्यूआर कोड स्क्यान गरेपछि पर्यटकले पोखरा मात्र नभई नेपालभरका प्रमुख पर्यटकीय गन्तव्य, आकर्षण र आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने बताए । उनले सामान्य देखिने सिट कभरले पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

लामिछानेका अनुसार पहिलो चरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा मुख्य पर्यटकीय क्षेत्रमा सञ्चालन हुने करिब ६ सय ट्याक्सीमा यस्ता सिट कभर राखिनेछ । आगामी दिनमा अन्य पर्यटकीय गन्तव्यमा सञ्चालन हुने ट्याक्सीमा पनि यो अभियान विस्तार गरिने उनले जानकारी दिए।

‘देख्दा सामान्य सिट कभर हो, तर यसमा रहेको क्यूआर कोड स्क्यान गरेपछि पोखरासहित देशका प्रमुख पर्यटकीय स्थलहरूको विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ। यसले पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेका छौं,’ उनले भने।

कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन प्रमुख विनोद सिंह रावतले अन्तर्राष्ट्रिय उडान विस्तारको प्रक्रिया सकारात्मक रूपमा अघि बढिरहेको जानकारी दिए । उनका अनुसार फ्लाइ दुबईसँगै एयर अरेबियाले पनि प्राविधिक टोली पोखरा पठाएर अध्ययन गरिरहेको छ । निकट भविष्यमै कम्तीमा तीन अन्तर्राष्ट्रिय विमान कम्पनी मार्फत पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पनि अन्य विदेशी विमान कम्पनीहरू पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालन गर्न इच्छुक देखिएको बताए। उनले अन्तर्राष्ट्रिय उडानबाट आउने पर्यटकको पहिलो सम्पर्क ट्याक्सीसँग हुने भएकाले ट्याक्सी सेवाको गुणस्तर र आतिथ्यले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण प्रभाव पार्ने उल्लेख गरे ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको ट्याक्सी सेवा दिन आफूहरू पूर्ण रूपमा सक्षम रहेको बताए । विमानस्थलमा यात्रु व्यवस्थापनका विषयमा विभिन्न चुनौती र अवरोध सामना गर्नुपरे पनि ग्राहकमैत्री, सुरक्षित र गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

उनले क्यूआर कोडयुक्त सिट कभर पोखरेली ट्याक्सी सेवा प्रालिमा आबद्ध सवारी साधनमा मात्र नभई अन्य कम्पनीका ट्याक्सीमा समेत राखिने जानकारी दिए । साथै, पर्यटकसँग प्रभावकारी संवाद गर्न ट्याक्सी चालकलाई विभिन्न विदेशी भाषाको तालिम उपलब्ध गराउन सके पोखराको पर्यटन प्रवर्द्धन अझ प्रभावकारी बन्ने उनको सुझाव थियो ।

बरिष्ठ उपाध्यक्ष सूर्यबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघसंस्था, ट्याक्सी व्यवसायी तथा सरोकारवालाको सहभागिता थियो । सिट कभरमा जडित क्यूआर कोडमार्फत डिजिटल सूचना प्रवाह गर्ने यो अभियानले पर्यटकलाई सहज सूचना उपलब्ध गराउनुका साथै पोखरा र नेपालको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

  • १८ असार २०८३, बिहीबार १९:३१ प्रकाशित