लमजुङ ।
आजदेखि रात्रिकालीन समयमा बेसीसहर–चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
बेसीसहर–चामे सडकको बेसीसहरबाट मनाङ जिल्लाको सीमानासम्मको खण्डमा प्रत्येक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले जानकारी दिए । उनका अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार–भोर्लेटार सडकखण्डको बिमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।
सडकखण्डमा अत्यावश्यक रहेका सवारीसाधन भने सञ्चालन गर्न दिने उनले बताए । जिल्ला प्रशासन कार्यालय लमजुङले बैठकको निर्णय सार्वजनिक गर्दै यसबाट असुविधा भएकामा क्षमासमेत मागेको छ ।
बेँसीसहरबाट मनाङको सिमाना म्यार्दी खोलासम्म ३५ किलोमिटर पर्दछ भने बेँसीसहरबाट चामे मनाङसम्म ६५ किलोमिटर दूरी पर्दछ । यो जिल्लाको उत्तरी क्षेत्रका स्थानीय र मनाङको नागरिक यात्रा गर्ने सडक हो । लमजुङ र मनाङ जोड्ने एक मात्रै सडकका रूपमा रहेको यो खण्डमा बर्सेनि बर्खायाममा विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध हुँदा मनाङबासी बढी मर्कामा पर्दै आएको छन् ।
यो सडक लामो समय अवरुद्ध हुँदा हेलिक्टरमार्फत स्थानीय आवतजावत गर्न बाध्य हुँदै आएको छन् । त्यस्तै राइनास नगरपालिकाबाट मध्यनेपाल नगरपालिका तथा कास्की जिल्लाको सिमानासम्म लमजुङ खण्डमा ४८ किलोमिटर पर्दछ ।











