स्याङ्जामा जिप दुर्घटना : एक जनाको ज्यान गयो, १८ जना घाइते

केन्द्रभाग मिडिया

स्याङ्जा ।

स्याङ्जामा जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।

शुक्रबार बिहान ताप्केबाट वालिङ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप चालकले नियन्त्रण गुमाउँदा सडक छेउमा पल्टिएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । जिपमा चालकसहित १८ जना सवार थिए ।

दुर्घटनामा परी घाइते भएका वालिङ नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा वालिङ–७ की ४६ वर्षीया रूपकला सारू, रुपन्देहीको गैडहवा–४ की ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी (पूर्व) कावासोती नगरपालिका–५ की ४१ वर्षीया मायादेवी सुनारी गम्भीर घाइते भएका छन् ।

यस्तै, मायादेवी सुनारीकी १२ वर्षीया छोरी कर्मिसा सुनारी, वालिङ–७ की जैकला सारू, पोखरा महानगरपालिका–९ की रुक्सना थापा, देवदह नगरपालिका–५ की कमला थापा, बिरुवा गाउँपालिका–६ का टोपबहादुर थापा, वालिङ–७ की गौमाया सारू, बेलबहादुर आले, कुमार सारू र ज्ञानुमाया सारू घाइते भएका छन् । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा अन्य पाँच जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेमध्ये २८ वर्षीय चालक मिनबहादुर सारू पनि रहेका छन् । उनलाई सामान्य चोट लागेको र हाल प्रहरीको नियन्त्रणमा राखिएको छ ।

दुर्घटनापछि सबै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्‍याइएको थियो । अहिले दुर्घटनामा घाईते सबैलाई थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • १२ असार २०८३, शुक्रबार १५:१३ प्रकाशित