काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका उनलाई मंगलबार विशेष अदालत काठमाडौंले पहिलो पटकका लागि सात दिन हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण विभागलाई अनुमति दिएको हो । विभागले भने २० दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले हिरासतमा राख्नका लागि अनुमति दिएको हो। अदालतको आदेशमा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जरुरी पक्राउ पूर्जी स्वीकृति एवं अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि अनुरोध भएकोमा जरुरी पक्राउ पूर्जी स्वीकृत भई आज पहिलो पटक सात दिन म्याद थप भएको छ।’
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई विभागको अनुरोधमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको थियो । उनलाई मंगलबार काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराइएको थियो ।










