चितवन ।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामावली त्रुटि सच्याउने क्रम नसकिँदा बन्दसत्र सुरू हुने समय नै लम्बिएको छ ।
आज बिहान साढे ८ बजेबाट बन्द सुत्र सुरू गर्ने कार्यतालिका थियो । तर प्रतिनिधिहरूको नामावलीहरू नै टुंगो नलाग्दा तोकिएको समयमा सुरू गर्न समस्या परेको हो ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको टुंगो लगाउनेक्रम चलिरहेको छ । यो सकिएपछि मात्र प्रतिनिधिहरू निश्चित हुन्छन् । नेताहरूका अनुसार बन्दसत्र सुरू हुन नै अपराह्न अबेर हुनसक्छ ।
प्रतिनिधिहरूको नाम, थर, ठेगाना नै नमिलेका कारण उनीहरूको कार्ड बन्न सकेको छैन । मधेस लगायतका प्रदेशका त प्रतिनिधिहरू को रहने भन्नेमा पनि विवाद थियो ।
निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो ।अहिले बन्दसत्रस्थल वरपर रास्वपाका प्रतिनिधिहरुको उल्लेख्य भिडभाड छ ।
बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम छ ।













