पोखरा ।
कास्कीको नवौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । सभाको गण्डकी प्रदेश सभाका सदस्यहरू प्रकाश बराल, देवका पाहारी, नन्दकला नेपालीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सो क्रममा प्रदेश सभा सदस्य प्रकाश बरालले जिल्ला समन्वय समितिले प्रभावकारी कार्य सम्पादन गरिरहेको बताए ।प्रदेश सभा सदस्य देवका पाहारीले सदन मार्फत जिससहरूको भूमिकालाइ थप शसक्त बनाउनुपर्ने जोड दिदैं त्यसका लागि पहलकदम लिने उल्लेख गरे ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तीनै तहको सरकारको प्रतिनिधित्व गरी विकास समन्वय, सहजीकरण, अनुगमन जस्ता कार्यभार सुम्पिएको राजनितिक इकाइको रुपमा रहेको जनप्रतिनिधिमुलक संस्था जिल्ला समन्वय समिति माथि अनेक वाहानामा विभिन्न कोणवाट प्रश्न उठाउने काम भएको भन्दै आपत्ति जनाए ।
प्रमुख पौडेलको अनुसार संविधान संसोधनका समयमा जिससको भूमिकालाइ अझै थप प्रभावकारी वनाउन, नेपाल सरकार कार्य विस्तृतीकरण प्रतिवेदन पुनरावलोकन गर्दा जिल्ला समन्वय समिति महासंघको प्रतिनिधित्वको व्यवस्था अनिवार्य वनाउन, अधिकार, कर्तव्य र कार्यलाइ अझ स्पष्ट पार्न, समन्वयकारी भूमिकालाइ सुदृढ गर्न, अनुगमन तथा मूल्यांकन कार्यलाइ व्यवस्थित वनाउन, विवाद समाधान संयन्त्रका रुपममा विकास गर्न जिल्ला सभाको माग छ ।
त्यसैगरी योजना तथा विकास समन्वय केन्द्र वनाउन, जिल्ला तथ्यांक तथा सूचना केन्द्र स्थापना गर्न ,नियमित क्षमता अभिवृद्धि कार्यक्रम, भ्रष्टाचार रहित समाज सिर्जाना गर्न, सुशासन र जवाफदेहिताको प्रवर्द्धन गर्न सभाले माग गरेको छ ।
सूचना प्रवाहका लागि जिल्ला समन्वय समितिमा मुख्य सम्पर्क कार्यालय स्थापना गर्नु पर्ने जिल्ला सभाको माग छ ।संघ प्रदेश र स्थानीय तह वीचको प्रभावकारी पुल, विकास समन्वयकर्ता र अनुगमनकारी संस्थाकारुपमा थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न सभाले माग गरेको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य गणेशमान गुरुङ ,नन्दकला नेपाली ,पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य, तत्कालिन जिल्ला विकास समिति कास्कीका सभापति पुण्य प्रसाद पौडेल, कास्कीका पूर्व प्रमुख बैन बहादुर अधिकारी क्षेत्री ,कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, पोखरा महानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम अर्यालले आफ्ना भनाई राखेका थिए ।
यस्तै एमाले कास्कीका उप सचिव सन्तु सुवेदी, नेपाली कम्युनिस्ट पार्टीका खड्ग हमाल, राप्रपाका नारायण गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमाराज बास्तोला, नेपाल रेडक्रस कास्कीका अध्यक्ष उर्मिला खड्का, जिसस तनहुँका उप प्रमुख बासुदेव थापा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सभाले आगामी बर्ष २०८३-८४ को बार्षिक नीति तथा कार्यक्रम समेत पारित गरेको छ ।जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न सभामा स्वागत उप(प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।












