कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्दैछन् । महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिनका लागि नेताहरुको भिड लागेको छ ।

निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण गरिएको छ ।

महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएपछि फारम पाउनेछन् ।

त्यस्तै दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु‍र्‍याएको छ ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पु‍र्‍याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।

दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यक्ताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ ।

यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो ।

  • २० आश्विन २०८३, मंगलवार ११:५९ प्रकाशित