म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण गरिएका छन् ।
निलगिरिखोला जलविद्युत आयोजनाको ६८ लाख ४९ हजार सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा प्रसूति गृह र बाँसबोटमा सामुदायिक भवन निर्माण गरिएका हुन् ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत् आयोजनाको प्रवर्द्धक निलगिरि खोला हाइड्रोपावरले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत भवन निर्माणमा सहयोग गरेको बताए ।
चारकोठे दुई तले प्रसूति गृह भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री र उपकरण व्यवस्थापन गरेर प्रसूति गृह सञ्चालन गरेको छ । बाँसबोटमा निर्माण भएको सभाहलसहितको दुई तले भवनमा भेला, बैठक, तालिम, गोष्ठीका साथै भोजभतेर र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज भएको स्थानीय तम चोचाङ्गीले बताए ।
बाँसबोटको भवन निर्माणका लागि स्थानीय डिलमाया तिलिजाले चार रोपनी आठ आना जग्गा निःशूल्क उपलब्ध गराएकी थिईन् ।आयोजनाले वडा कार्यालयको सिफारिस र प्रभावित क्षेत्रका बासिन्दाको मागअनुसार अन्य स्थानीय विकास निर्माण तथा सामाजिक क्षेत्रमा पनि सहयोग गरिरहेको जनाएको छ । रासस











