फिर्केखोला खोलाघर भित्रका संरचनामा भत्काउन थालियो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र बनेका संरचना हटाउन आज (आइतबार) देखि  थालेको छ । भत्काउने अभियान आज बिहान १० बजेदेखि सुरु भएको हो ।

महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका ती संरचना हटाउनका लागि डोजर चलाएको हो । जिरो नजिक लायन्स क्लव भवनबाट संरचना भत्काउन थालिएको हो । महानगरले ती संरचना हटाउनका लागि ३५ दिनको समय दिएको थियो । उक्त समयसीमा हिजो शनिबार सकिएको थियो ।

महानगर प्रमुख धनराज आचार्यद्वारा जारी सूचनाअनुसार अभियानका लागि महानगरलाई तीन केन्द्रमा विभाजन गरिएको छ । सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, सचिव तथा कर्मचारीको उपस्थितिमा महानगर प्रमख आचार्यले खोलघर भित्रका संरचना भत्काउन सुरुवात गरेका छन् ।

अभियानअन्तर्गत अधेरीकुना केन्द्र (बिन्ध्यवासिनीभन्दा पश्चिम) मा वडा नं. १, २, ३, १६, १८, १९, २०, २४, २५ र ३० लाई समेटिएको छ । यस केन्द्रमा आर्थिक विकास महाशाखा, राजस्व महाशाखा, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य प्रवर्द्धन केन्द्र र नापी शाखा परिचालन गरिने जनाइएको छ ।

त्यसैगरी बुढानीलकण्ठ मन्दिर (फिर्के पुल) केन्द्रअन्तर्गत वडा नं. ४, ५, ९, १०, ११, १२, १३, २६, २८, ३१ र ३३ समावेश गरिएको छ । यहाँ पूर्वाधार महाशाखा, शिक्षा महाशाखा, वित्त महाशाखा, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य प्रवर्द्धन केन्द्र, सिसुवा अस्पताल, कानुन शाखा तथा नापी शाखा परिचालन हुनेछन् ।

जिरो किलोमिटर केन्द्र (पृथ्वी राजमार्ग बस सञ्चालक समिति अगाडि)अन्तर्गत वडा नं. ६, ७, ८, १४, १५, १७, २१, २२, २३, २७, २९ र ३२ लाई राखिएको छ । यस केन्द्रमा सामाजिक विकास महाशाखा, सहरी विकास महाशाखा, गण्डकी बहुप्राविधिक, स्वास्थ्य प्रवर्द्धन केन्द्र, नापी शाखा, विपद् शाखा तथा सहकारी शाखा परिचालन गरिने भएको छ ।

  • १० जेष्ठ २०८३, आईतवार ११:०६ प्रकाशित