आज गण्डकीसहित दुई प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल, मधेस प्रदेशमा आंशिक बादल र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदुरपश्चिम प्रदेशको एक‍–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका तथा कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

  • ९ जेष्ठ २०८३, शनिबार ०७:४० प्रकाशित