रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न कास्की अदालतको आदेश

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता भएको छ । जिल्ला अदालत कास्की अदालतले लामिछाने विरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले शुक्रबार निवेदकको माग बमोजिम हुने आदेश दिएको हो ।

अब लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारीको मुद्दाका प्रतिवादीहरूलाई सहकारी ठगीको मात्रै अभियोग कायम रहने भएको छ । रवि लामिछानेसँगै जीबि भन्ने गितेन्द्रबाबु राई, छविलाल जोशी लगायतको पनि अन्य मुद्दा फिर्ता हुनेछ ।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले सहकारी ठगीसम्बन्धी मुद्दा यथावत् राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयले सोहीबमोजिम अदालतमा निवेदन दिएको थियो ।अदालतले निवेदकको मागबमोजिम हुने आदेश गरेको हो ।

गत १८ असोज २०८१ मा कास्की जिल्ला अदालतमा रविविरुद्ध सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

  • ८ जेष्ठ २०८३, शुक्रबार १७:४५ प्रकाशित