पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले नयाँ पदाधिकारी नियुक्त गरेको छ । संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार विधान अनुसार उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन् । एमालेले दलको उपनेतामा लिलबहादुर थापालाई नियुक्त गरेको छ ।
यसैगरी प्रमुख सचेतकमा देवका पहारी र सचेतकमा भक्तबहादुर कुँवर नियुक्त भएका छन् । यसअघि सचेतक रहेकी पहारीलाई एमालेले प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । तत्कालीन प्रमुख सचेतक गोविन्दबहादुर नेपाली मन्त्री बनेपछि सो पद खाली रहेको थियो । रिक्त पदमा नयाँ नियुक्ति गरी संसदीय दललाई पूर्णता दिइएको अधिकारीले बताए ।
प्रदेश सभामा दलको भूमिकालाई थप प्रभावकारी बनाउन र सरकारसँगको समन्वयलाई मजबुत बनाउन नयाँ टिम बनाइएको एमालेले जनाएको छ । नयाँ पदाधिकारीहरूले बिहीबारदेखि नै आफ्नो कार्यभार सम्हाल्ने गरी नियुक्ति पत्र पाएका हुन् ।


















