छोरेपाटनका एसइई उत्तीर्ण विद्यार्थीलाई नगद सहित सम्मान

केन्द्रभाग मिडिया

पोखरा ।

छोरेपाटन माध्यमिक विद्यालयका एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई दिर्दै सम्मान गरिएको छ ।शुक्रबार एक कार्यक्रमका बीच उच्चतम् ४.० जिपिए ल्याउन सफल शिवानी सुवेदी, रचना ढकाल, करिना गौडेल लगायत उत्तीर्ण १ सय ५४ जना विद्यार्थीलाई सम्मान गरिएको हो।

विद्यालयले उच्चतम् ४.० जिपिए ल्याएका विद्यार्थीलाई नगद रु. ७ हजार सहित सम्मान गर्यो ।त्यस्तै १० औं पोखरा स्पोट्र्स अवार्डतर्फ एथलेटिक्समा वर्ष खेलाडी घोषित हुन सफल छोरेपाटनकै छात्रा नारायणी भण्डारीलाई पनि रु.५ हजार सहित पुरस्कृत गरियो।

कार्यक्रममा विद्यालयका अध्यक्ष सागर अधिकारीले विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन, शिक्षक सबैको इमान्दारपूर्वक प्रयासका कारण उक्त नतिजा आउन सफल भएको जनाउँदै त्यसलाई आगामि वर्ष अझै बृद्धि गरिने उल्लेख गरे ।उनले पर्यटकीय सहर पोखरालाई मध्येजनर गरी तथा अभिभावकको मागका आधारमा विद्यालयमा होटल व्यवस्थापन समूहतर्फको पठनपाठन यसवर्षदेखि सुरु गरिने जनाउँदै सो कार्यक्रम पनि सफल हुने विश्वास व्यक्त गरे।

प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले उत्कृष्ट नतिजासहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै सफल शैक्षिक यात्राको शुभकामना दिए ।

सो अवसरमा सहायक प्रधानाध्यापकद्वय खेमराज बराल र मेघनाथ पौडेल, उच्चतम् ४.० जिपिए ल्याउन सफल विद्यार्थीका तर्फबाट रचना ढकाल, वर्ष खेलाडी घोषित नारायणी भण्डारी, शिक्षकहरु मनोज भट्टराई, महादेव पौडेल र दिव्येश्वरी रेग्मी, अभिभावक नवराज बराल लगायतले पनि धारणा राखे।

यसवर्ष कास्कीमा सरकारी विद्यालयमध्ये सबैभन्दा धेरै ३ जनाको ४.० जिपिए ल्याउने छोरेपाटन मात्र हो ।यहाँबाट २०८१ सालको एसइईमा समेत श्रेया लामिछानेले ४.० जिपिए ल्याएकी थिइन्।

यसपालि छोरेपाटनबाट कुल १ सय ८१ जना विद्यार्थी एसइईमा सम्मिलित भएकामा ३.६ देखि ३.९९ जिपिए ल्याउने विद्यार्थी ३४ जना छन् ।त्यस्तै, ५१ जनाले ३.२ देखि ३.५९ जिपिए ल्याएका छन्। ति समेत गरी विद्यालयबाट कुल १ सय ५४ जना अर्थात ८५ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका छन् ।

  • ३ जेष्ठ २०८३, आईतवार ११:१२ प्रकाशित