पोखरा ।
गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको चार महिनाको अबधिमा सवारी दुर्घटनामा परेर १०७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८३/८४ को साउन देखि कार्तिकसम्म चार महिनाको अबधिमा ५२७ वटा सवारी दुर्घटना हुँदा त्यसमा परेर १०७ जनाले ज्यान गुमाउँदा ८९२ जना घाइते भएका नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चापाइँले जानकारी दिए ।
प्रवक्ता चापाइँका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा प्रदेशभर १२८ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ७१ जनाको ज्यान गुम्नुका साथै १७९ जना घाइते भएका थिए ।
पोहोरको यही अवधिको तुलनामा यस वर्ष दुर्घटनाको संख्या ३११.७२ प्रतिशतले बढेको छ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५०.७० प्रतिशत र घाइते हुनेको संख्या ३९८.३३ प्रतिशतले वृद्धि भएको देखिएको छ। अर्थात् गत वर्षको पहिलो चौमासिकको तुलनामा यस वर्ष दुर्घटना चार गुणाभन्दा बढी र घाइतेको संख्या झण्डै पाँच गुणा पुगेको छ ।
जिल्लागत तथ्यांक विश्लेषण गर्दा नवलपुरमा सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् । त्यहाँ पहिलो चौमासिकमा १५६ वटा दुर्घटना भएका छन् । दोस्रो स्थानमा रहेको कास्कीमा १२९ र तनहुँमा ९५ वटा दुर्घटना भएका छन् ।
दुर्घटनाको संख्या मात्र होइन, घाइते हुनेको संख्यामा पनि नवलपुर अगाडि छ । नवलपुरमा ३३५ जना घाइते भएका छन् । कास्कीमा १९१ र तनहुँमा १४३ जना घाइते भएका छन् । यी तीन जिल्लामा मात्रै ४८० वटा दुर्घटना भएका छन् भने ६६९ जना घाइते भएका छन् । यो प्रदेशभरका कुल दुर्घटनाको करिब ९१ प्रतिशत र घाइतेको करिब ७५ प्रतिशत हो ।
तर दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा भने कास्की पहिलो स्थानमा छ । कास्कीमा ३४ जनाको ज्यान गुमेको छ । नवलपुरमा ३० र तनहुँमा २५ जनाले ज्यान गुमाएका छन् । यी तीन जिल्लामा मात्रै ८९ जनाको ज्यान गुमेको छ । जुन प्रदेशभर सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको ८३ प्रतिशतभन्दा बढी हो ।
अन्य जिल्लाको तथ्यांक हेर्दा स्याङ्जामा १३ वटा दुर्घटना हुँदा ९ जनाको ज्यान गुम्नुका साथै ३१ जना घाइते भएका छन् । पर्वतमा ४० दुर्घटनामा ३ जनाको ज्यान गुमेको छ भने ६५ जना घाइते भएका छन् । गोरखामा ३१ दुर्घटना हुँदा ४ जनाको ज्यान गुमेको छ भने ६४ जना घाइते भएका छन्।
त्यस्तै, मुस्ताङमा २६ दुर्घटना हुँदा एक जनाको ज्यान गुमेको छ भने १२ जना घाइते भएका छन् । लमजुङमा १८ दुर्घटना हुँदा २४ जना घाइते भएका छन् भने ज्यान गुमाउनेको संख्या शून्य छ । बागलुङमा १५ दुर्घटनामा एक जनाको ज्यान गुम्नुका साथै २३ जना घाइते भएका छन् । म्याग्दीमा तीन दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मनाङमा एउटा दुर्घटना भएकोमा त्यहाँ मानवीय क्षति भएको छैन ।
यस्तो छ पोहोरको तुलनामा जिल्लागत अवस्था
गत वर्षको पहिलो चौमासिकसँग तुलना गर्दा नवलपुरमा दुर्घटना ३४ बाट बढेर १५६ पुगेको छ । अर्थात् १२२ वटा दुर्घटना थपिएका छन् । कास्कीमा ३४ बाट बढेर १२९ पुगेको छ । तनहुँमा २० बाट बढेर ९५ पुगेको छ ।
घाइतेको संख्या पनि सबैभन्दा धेरै नवलपुरमा बढेको छ । त्यहाँ गत वर्ष ३५ जना घाइते भएकोमा यस वर्ष ३३५ जना पुगेका छन् ।
ज्यान गुमाउनेको संख्यामा सबैभन्दा धेरै वृद्धि कास्कीमा देखिएको छ । गत वर्ष चार महिनाको अबधिमा १६ जनाको ज्यान गुमेकोमा यस वर्ष ३४ जनाले ज्यान गुमेको छ। स्याङ्जामा पोहोर यही अबिधिमा दुईजनाको ज्यान गुमेकोमा यसवर्ष चार महिनामा नौजनाको ज्यान गुमेको छ । तनहुँमा पोहोर ४ महिनामा सवारी दुर्घटनामा परेर १७ जनाले ज्यान गुमाएकोमा अहिले २५ जनाको ज्यान गुमेको छ ।
यसबीच बागलुङ, लमजुङ, म्याग्दी र मुस्ताङमा भने अघिल्लो वर्षको तुलनामा ज्यान गुमाउनेको संख्या छ । बागलुङमा चारबाट घटेर एक, लमजुङमा चारबाट शून्य, म्याग्दीमा तीनबाट शून्य र मुस्ताङमा दुईबाट घटेर एक जनाको ज्यान गुमेको तथ्यांक छ।
किन बढ्यो सवारी दुर्घटना ?
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रवक्ता थानेश्वर चापाइँ सबैभन्दा धेरै दुर्घटना सवारी चालककै कारण हुने गरेको बताउँछन् । सवारीसंख्या बढेको, पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने नवलपुर र पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ र कास्की सडक खण्डमा धेरै दुर्घटना भएको उनले सुनाए ।
उनका अनुसार यी सडक विस्तार भएसंगै सवारी दुर्घटना न्युनिकरण हुनुपर्नेमा लापरवाहीकै कारण समस्या देखिएको उनको भनाई छ । ‘सडक राम्रो भएपछि दुर्घटना कम हुनुपर्ने हो । तर, त्यसको ठिक विपरित सडक निर्माणले पनि पूर्णता पाउन ढिला हुँदा सडकको अवस्था फरक फरक पर्दा नयाँ चालकले मेसो नपाउने अवस्था पनि छ । मापसे र लापसे गरेर सवारी चलाउने गरेको पनि पाइएको छ ।’ उनले भने, ‘यसलाई न्युनिकरण गर्न चेकिङ लगायतका गतिविधि बढाएका पनि छौं ।’
प्रवक्ता चापाइँले विद्यालयहरुमा पुगेर, समुदायसंग मिलेर र अन्य हिसावले समेत धेरै नै जनचेतनामुलक कार्यक्रम भएका बताए । अघिल्ला वर्षहरुमा ज्यान गुमाउने बाहेकका तथ्यांक सही नआएका उल्लेख गर्दै उनले तथ्र्याकलाई व्यवस्थित गर्दापनि दुर्घटना र घाइतेको संख्या बढेको देखिएको दाबी समेत गरे ।













