काठमाडौं ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विना गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी छन्।
बिहीबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद गुरुङले अर्बौँको लगानीमा बनेको विमानस्थल चलायमान हुन नसक्नु दुखद भएको बताउँदै यसका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेकी हुन्।
सांसद गुरुङले नेपालको पर्यटन विकासमा छिमेकी मुलुक भारत र चीनको भूमिका निर्णायक हुने उल्लेख गरिन्। दुवै देशको विशाल जनसङ्ख्यालाई लक्षित गर्दै नेपालमा पर्यटक भित्र्याउन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सहज सञ्चालन अपरिहार्य रहेको उनको तर्क छ।
पर्यटकीय नगरी पोखराको चर्चा गर्दै सांसद गुरुङले यहाँको तालतलैयाहरूको उचित व्यवस्थापन र संरक्षणमा पनि सरकारको ध्यान जानुपर्नेमा जोड दिइन्। उनले पोखरालाई पर्यटनको हब बनाउन पूर्वाधार विकास र प्राकृतिक सम्पदाको जगेर्ना दुवैलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन्।
यसका साथै, सांसद गुरुङले पछिल्लो समय टेलिफोन र इन्टरनेटको नेटवर्किङमा देखिएको समस्याले नागरिक र पर्यटक दुवैलाई सास्ती भइरहेको भन्दै त्यसको तत्काल समाधानका लागि सरकारलाई सचेत गराएकी छन्।













